• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार वरिष्ठ गीतकार विश्व बल्लभलाई

काठमाण्डौं,साउन १० । गायक कन्हैया सिंह परियार र गायिका अञ्जना गुरुङको नाममा स्थापित कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार यही साउन १८ गते राजधानीमा हुने भएको छ ।

राजधानीस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने उक्त संगीत पुरस्कार वरिष्ठ गीतकार विश्व बल्लभलाई प्रदान गरिने संगीतकार तथा सो कार्यक्रमका संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए । गायक कन्हैया र गायिका अञ्जना श्रीमान–श्रीमती हुन् । उनीहरु हाल अमेरिकामा बस्दै आएका छन् ।

‘तिमि बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली, धेरै दिन भो’ लगायत धेरै गीतका गीतकार बल्लभ नेपाली सुगम संगीतको विकासमा योगदान दिँदै आएकाले उनलाई सो पुरस्कार सम्मान स्वरुप प्रदान गर्न लागिएको संयोजक श्रेष्ठले बताए ।

उक्त पुस्कारको राशी रु ५१ हजार नगदसहित सम्मान पत्र र दोसल्ला रहेको उनको भनाइ छ । गायक कन्हैया परियार नेपाली गीत संगीत क्षेत्रमा झण्डै तीन दशकदेखि सक्रिय संगीतकार एवं गायकको रुपमा परिचित छन् भने अञ्जना पनि पाश्व गायन तथा नेपाली सांगीतिक क्षेत्रमा चर्चामै रहेकी गायिका हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा आदर्श जोडीको छवि बनाएका ती दम्पतीले गत वर्षदेखि नेपाली गीत संगीत क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका एक जना संगीतकर्मीलाई नगद राशीसहित सम्मान गर्दै आएको छ ।

सम्बन्धित समाचार

Facebook Comments