• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
“लाङटाङको काख: नजिकको स्वर्ग जहाँ समय रोकिएझैं लाग्छ”

लाङटाङको यात्रा नेपालकै प्राकृतिक सौन्दर्य र हिमालको काखमा रमाउने उत्कृष्ठ गन्तव्य हो। काठमाडौं र चितवनबाट नजिकै रहेको यो ट्रेकिङ मार्ग पर्यटकको तेस्रो रोजाइमा पर्दछ। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने क्यान्जिङ री, समुद्री सतहबाट ४४०० मिटर उचाइमा अवस्थित, यस पदयात्राको मुख्य आकर्षण हो।

 

 

ट्रेकको यात्रा

काठमाडौंको माछापोखरीबाट सार्वजनिक यातायातमा नुवाकोट, धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न ६-७ घण्टा लाग्छ। चितवनबाट जाने पर्यटकले नारायणगढबाट काठमाडौंतर्फको गाडी चढी गल्छीमा गाडी परिवर्तन गरी स्याफ्रुबेँसी जान सकिन्छ। स्याफ्रुबेँसीदेखि पदयात्रा सुरु हुन्छ, जहाँ बाटोभरि लाङटाङ खोलाले साथ दिन्छ।

यात्राको क्रममा प्राकृतिक झरना, चरा-चुरुङ्गीको आवाज र लाङटाङ उपत्यकाको अनुपम दृश्यले यात्रीको मन मुग्ध पार्छ। क्यान्जिङ भ्यालीसम्म पुगेपछि क्यान्जिङ री–१ र क्यान्जिङ री–२ घुम्न सकिन्छ। क्यान्जिङ गुम्बा, याक फार्म र गञ्जला पासका यात्राले थप रोमाञ्च थप्छ।

मुख्य आकर्षण

क्यान्जिङ री: क्यान्जिङ भ्यालीबाट १–२ घण्टाको उकालोमा रहेको यो स्थान हिमालय दृश्यावलोकनका लागि उत्कृष्ट मानिन्छ। लाङटाङ हिमालसहित नेपाल र तिब्बतका दर्जनौं हिमश्रृंखलाहरू यहाँबाट देख्न सकिन्छ।

झरना र खोलाहरू: लाङटाङ खोला र बाटोमा पर्ने झरनाहरू पर्यटकका लागि मनमोहक बन्छन्।

स्थानीय संस्कृति र गुम्बा: क्यान्जिङ गुम्बा र स्थानीयहरूको चौँरीपालन तथा याकको ऊनबाट बनेका सामग्री यहाँका विशेषता हुन्।

यात्रा समय र खर्च लाङटाङ ट्रेक पूरा गर्न औसतमा ५–७ दिन लाग्छ। यात्रामा खर्च १०,००० रुपैयाँ (दालभात र बासका लागि) पर्याप्त हुन्छ। थप खाना र ऊर्जा आपूर्तिका लागि काजु, किसमिस, बदाम, बिस्कुट जस्ता चीजहरू आफैं लैजानु राम्रो हुन्छ।

यात्रा अनुभव

“हिमालको काखमा पुगेर प्रकृतिसँग रमाउन चाहनेका लागि लाङटाङ उत्कृष्ट गन्तव्य हो। सहज पदमार्ग, हिमाल नजिकबाट हेर्ने अवसर र प्राकृतिक सौन्दर्यले यहाँको यात्रा अविस्मरणीय बनाउँछ।” लाङटाङ ट्रेकिङ केवल पदयात्रा मात्र होइन, यो प्रकृतिसँग आत्मीयताको अनुभव हो। यहा पुगेपछि हरकोहि आफ्नो लाग्छ। सबैको सहयोगि व्यवहार देखिन्छ। बाटोमा हिड्ने हरकोहि साथि बन्छन । ट्रेकिङको सबै भन्दा खुसि र रमाइलो पल नै बाटामा भेटिएका स्वदेशि तथा विदेशि सङको अनुभव साटासाट र गफ हुने गर्छ।

सम्बन्धित समाचार

Facebook Comments