हराएको नेतृत्व, बाँचेको विचार
नेपालको राजनीतिमा जेठ ३ र जेठ ५ केवल मितिहरू होइनन् । यी दुई दिनहरूले नेपालको कम्युनिस्ट आन्दोलनको शिर झुकाएको, अनुहार झल्याँस्स पारेको, र दिशा पुनः खोज्न बाध्य बनाएको दिन हुन् ।
यिनै दिनहरूमा कम्युनिस्ट पार्टीहरूले दुई यस्ता अमूल्य व्यक्तित्व गुमाए, जसको योगदान र सपना आज पनि हाम्रो चेतनामा जीवित छन् मदन भण्डारी र जिवराज आश्रित ।
उनीहरूलाई सम्झँदा एउटा मात्र शब्द मनमा आउँछ — युग पुरुष । किनभने उनीहरू केवल नेता थिएनन्, विचार थिए, आन्दोलन थिए, र नेपाली समाजलाई नयाँ मार्ग देखाउने प्रयास थिए ।
मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ (जबज) आज पनि कम्युनिस्ट आन्दोलनको मार्गनिर्देशक दस्तावेज हो । जसले लेनिन, माओ, स्टालिन जस्ता नामहरूको अन्धानुकरण होइन, नेपाली माटो सुहाउँदो क्रान्तिको बाटो खोज्ने प्रयास गरे । जबज केवल राजनीतिक लाइन होइन, त्यो जनतालाई बुझ्ने, उनीहरूसँगै हिँड्ने, संसदीय राजनीतिमा भाग लिएर पनि समाजवादप्रति प्रतिबद्ध रहने विचार थियो।
जीवराज आश्रित, ती मौन सहयात्री, पार्टीको वैचारिक स्थायित्वका आधारस्तम्भ थिए । उनले संगठनलाई मजबुत बनाउन मौन रहँदै योगदान दिएका थिए । आज जब म ती दिनहरू फर्केर सम्झन्छु, एक बालकको स्मृति जस्तै एउटा झझल्को मानसपटलमा उर्लन्छ ।
म त्यसबेला केवल १० वर्षको थिएँ । मलेखुको पतौरीमा मदन आश्रितले दिएको भाषणले उनको नेतृत्वप्रति त्यतिबेलै नतमस्तक थिएँ । त्यो भाषण उनको हत्या हुनु केही दिनअघिको मात्रै थियो । आजसम्म पनि मेरो स्मृतीमा बिम्बित भइरहने भाषण थियो त्यो । भाषणमा नेताको गाम्भीर्य मात्र होइन, जनताप्रतिको प्रेम र ईमानदारीको चमक त्यो बाल हृदयले नै महसुस गरेको थियो । लाग्थ्यो, उनी हाम्रै गाउँको, हाम्रै घरको मान्छे हुन्, जो हामीसँगै हाँस्छ, रुँन्छ, बाँच्ने सपना देख्छ ।
तर त्यसको केही दिनमै दासढुङ्गाको त्यो अँध्यारो रात, जेठ ३, २०५० केवल एउटा सडक दुर्घटना थिएन । त्यो नेपाली जनताको सपना चकनाचुर पार्ने यन्त्रजस्तै बन्यो । एउटै कारभित्र दुई शीर्ष नेता जुन घटना आजसम्म रहस्यमय नै छ ।
किन अनुसन्धान निष्कर्षमा पुग्दैन ? किन त्यो रहस्य खुल्दैन ?
यिनै प्रश्नहरूले आज पनि मन पोल्छ ।
जेठ ५, जुनदिन उनीहरूले आमसभाबाट विचार फिँजाउने सपना देखेका थिए, त्यसै दिन जनसभाबाट शोकसभामा बिदा गरिए । हजारौं जनता रुन बाध्य भए । त्यो दिन नेपाली जनताले बुझ्यो साँचो नेता भनेको पदधारी होइन, जनताको हृदयमा बस्ने मान्छे हो ।
आजको पार्टी र हिजोको पार्टी तुलना गर्दा मलाई गहिरो खिन्नता लाग्छ । त्यो पार्टी जुन विचारमा अडेको थियो, आज व्यक्तिमा केन्द्रित भएको देखिन्छ । नेतृत्व संघर्ष, गुटबन्दी, पदको लफडा... यी सबैले ती आदर्शवादी भावनाहरू हराउँदै गएको महसुस हुन्छ । तर, उनीहरूलाई सम्झँदा मनमा एउटा आशा जाग्छ । किनभने विचार कहिल्यै मर्दैन । व्यक्तिहरू जान्छन्, तर उनीहरूको विचार अमर रहन्छ । जबजब म पार्टीको नेतृत्वमा गम्भीरता हराउँदै गएको देख्छु, म फेरि मदनको जबज पढ्न थाल्छु, जीवराजको त्याग सम्झन्छु ।
मदन–आश्रितको चिता बलेको त्यो क्षण सम्झँदा, मलाई लाग्छ हामी केवल दुई नेता गुमाएका थिएनौं, हामीले एउटा युग गुमाएका थियौं । तर त्यो युग अझै पनि हामीभित्र बाँचेको छ केवल यसलाई फेरि जगाउने हिम्मत गर्नुपर्ने समय आएको छ ।
हिजो उनीहरूले जुन पार्टी बनाए, आज त्यो पार्टी आफैंलाई चिन्ने संघर्षमा छ । र त्यो संघर्ष तबसम्म पूरा हुँदैन, जबसम्म हामी मदन र जीवराजको विचारलाई आत्मसात गर्दै व्यवहारमा ल्याउँदैनौं ।
१८ °C काठमाडौं
Facebook Comments