चितवनमा जापानिज इन्सेफलाईटिसका कारण एक जनाको मृत्यु
चितवनमा जापानिज इन्सेफलाईटिसका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नं. १ निवासी ६० वर्षिया बृद्धा रहेकी छिन् ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईका अनुसार उनको उपचारपछि घर फर्किएसँगै मृत्यु भएको हो । जिल्लामा हालसम्म जापनिज इन्सेफ्लाईटीस पुष्टि भएका ९ जना मध्ये एक जनाको मृत्यु भएको हो । ती महिला भदौं ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर आएकी थिइन । यहाँका दुई अस्पतालमा उपचारपछि निको नहुने भनेर चिकित्सकले घर पठाएएका थिए ।
जिल्लामा हालसम्म नौ जनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण भएको छ । चापागाईका अनुसार पुष्टि भएको मध्ये माडीकै अर्का एक जना ७५ बर्षिया महिला सम्पर्कमा आएकी छैनन् । खोजी कार्य भइरहेको छ । राप्तीका ३५ वर्षिया महिला उपचार पछि घर फर्किएकी छन् । उनको स्मरण शक्ति कम्जोर भएको छ । कालिका नगरपालिकाका एक जना ३२ बर्षिय पुरुष अस्पतालबाट निको भएर घर फर्किएको र अबस्था सामान्य रहेको चापागाईले जानकारी दिनुभयो । रत्ननगरका २९ वर्षिया एक महिलाको भरतपुर अस्पतालको सघन उपचार कक्षमा गम्भीर अवस्थामा उपचार भईरहेका छ । उनलाई भेन्टिलेटरमा राखिएको छ । भरतपुर महानगर भित्रका चार जना मध्ये वडा नम्बर २२ का ५२ बर्षिय पुरुषमा अस्वभाबिक गतिबिधि र बिर्सन समस्या रहेको छ ।
सोही वडाका ५२ बर्षिया एक महिला, वडा नम्बर १९ का ७० वर्षका पुरुष र वडा नम्बर २० का ६४ वर्षका पुरुषमा जापनिज इन्सेफ्लाईटीसको पुष्टि भएको भए पनि बिरामी सम्पर्कमा ल्याउन नसकिएको चापागाईले कान्तिपुर हेल्थलाई बताउनुभयो । ती बिरामीको खोजी कार्य भइरहेको छ । रगतको नमुना संकलन गर्दा एकिन ठेगाना प्रष्ट नलेखिएकाले बिरामीको खोजिमा कठिनाई भएको हो ।
साउनको १५ गतेबाट बिरामी देखिन थालेकोमा भदौ १८ गतेसम्म यो संख्या एकाएक बढेर ९ पुगेको थियो । यहाँ परीक्षण गर्दा नमुनामा सङ्कास्पद देखिएपछि नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने गरिन्छ । जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको चापागाई बताउनुहुन्छ ।
Facebook Comments