पेट स्क्यान मेसिन धेरै जनताले लाभ लिन पाउने ठाउँमा राख्छौ : स्वास्थ्य मन्त्री खापुङ
चितवन, १० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले पेट स्क्यान मेसिन धेरै जनताले सेवा पाउने ठाउँमा राख्ने बताउनु भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३ औं वार्षिकोत्सव तथा १८ औं क्यान्सर सतर्कता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले खरिद गर्ने प्रक्रियामा रहेको यो मेसिन क्यान्सर उपचारमा महत्वपूर्ण हुने र यो मेसिनबाट धेरैभन्दा धेरै जनाले लाभ लिन सक्ने गरी राख्ने योजना रहेको बताउनु भएको हो ।
यो क्यान्सर अस्पताल देशकै महत्वपूर्ण भएको भन्दै यसको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै उहाँले सरकार आधारभूत स्वास्थ्य कसरी निःशुल्क दिन सकिन्छ भनेर लागिरहेको र स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालहरुमा आधारभूत स्वास्थ्य निःशुल्क दिन लागिरहेको उहाँले बताउनुभयो ।
सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकाहरुलाई रु.१ लाख बराबरको उपचार निःशुल्क गर्दै आएको उहाँले बताउनुभयो । स्वास्थ्य बीमामा सबैलाई आवद्ध गराउने गरी काम भईरहेको भन्दै उहाँले अस्पतालहरुको भुक्तानी पाउन बाँकी रकममा छिटो भुक्तानीका लागि लागिपरेको बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठले क्यान्सर अस्पतालमा अन्य अस्पताललाई जोडेर प्रतिष्ठान बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “छाता ऐन बनाएर प्रतिष्ठान बनाउनु पर्छ ।” क्यान्सर रोग लाग्न नदिन जनचेतनाका काममा जोड दिनुपर्ने भन्दै उहाँले क्यान्सरका ६० प्रतिशत बिरामी यही उपचारका लागि आउँछन भन्दै यसै अस्पतालमा पेट स्क्यान मेसिन ल्याउनु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेकपा एमाले चितवनका उपाध्यक्ष कमल पाठक, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने, चिनिया चिकित्सक टोलीका नेता डा. जिया झियो पिङलगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले अस्पतालको प्रगति विवरण र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो भने उपनिर्देशक डा. कृष्णसागर शर्माले स्वागत गर्नुभएको थियो ।
Facebook Comments