• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
काठमाडौं-दिल्ली हवाई भाडाले आकाश छोयो, एकतर्फी नै ६३ हजारसम्म, सस्तो टिकट असम्भव!

काठमाण्डौं,जेठ १४ । नेपालबाट भारतीय गन्तव्यहरुमा उडान संख्‍या थपिँदै जाँदा पनि वायुसेवा कम्पनीहरुलाई भने सेवा दिनै भ्याइ नभ्याइ भएको छ। यात्रु माग तथा चाप असाध्यै बढेपछि वायुसेवा कम्पनीहरु यसलाई व्यापारको राम्रो अवसरमा बदल्न जोडतोडले लागेका छन् ।
उडान माग उच्च भएपछि काठमाडौं-दिल्ली रुटको हवाई भाडा एकतर्फी नै ६३ हजार रुपैयाँसम्म पुगेको छ। यस रुटमा अहिले पुगेको यो अधिकतम भाडादर हालसम्मकै उच्च हो।

यसअघि करिब सात महिनाअघि काठमाडौं-दिल्ली वा दिल्ली-काठमाडौंको अधिकतम हवाई भाडा ५२ हजार रुपैयाँसम्म पुगेको थियो। त्यसपछि घटेको हवाई भाडा गत वैशाख सुरुबाटै पुनः उकालो लाग्दै ५१ हजार रुपैयाँ हाराहारी चलेको थियो।

यस रुटमा मागअनुसार उडान संख्या विस्तार गर्दा पनि यतिखेर खासगरी काठमाडौंबाट दिल्लीतर्फ सेवा दिनै भ्याइ नभ्याइ रहेको वायुसेवा कम्पनीहरुले बताएका छन्। यात्रु माग अत्याधिक बढेकाले यतिखेर सुरुआती भाडादरमा यो गन्तव्यमा टिकट पाउनै असम्भव रहेको वायुसेवा कम्पनीहरुको भनाइ छ।

आउँदो जुनको पहिलो सातासम्म सुरुआती भाडादरको टिकटै पाउन मुस्किल रहेको वायुसेवा कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन्।

नेपाल वायुसेवा निगम, एयर इण्डिया, इण्डिगो, भिस्तारा लगायत वायुसेवा कम्पनीले साताको अहिले ५६ वटा उडान गरिरहेका छन्।  तैपनि यतिखेर आउजाउ गर्ने यात्रुको भीड असाध्यै बढेको उनीहरुले जनाएका छन्।

खासगरी दुईतर्फी उडानको नै अत्याधिक माग बढेकाले यतिबेला एकतर्फी भाडादर नै ६३ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ। काठमाडौं-दिल्लीका उडानका लागि यतिखेर ट्राभल एजेन्सीबाट टिकट लिँदा अलिक कममा पाइहालियो भने पनि यात्रुले कम्‍तिमा ३५ हजार रुपैयाँ हाराहारी ठिक पार्नुपर्ने अवस्था रहेको पाइएको छ।

'अहिले भारत उडान गर्ने अधिकांश वायुसेवाको व्यापार मारामार छ। काठमाडौंबाट दिल्ली हुँदै नारिता, बैंकक लगायत मुलुक जाने नेपालीको भीड पनि उत्तिकै बढेको छ,' एयर इण्डियाको नेपाल कार्यालयका एक कर्मचारीले भने, 'लोड कम हुँदा यात्रुले सुरुआती भाडादरको टिकट पाउने हो। तर अहिले यो सम्भव छैन।'

यसैगरी अहिले भारतको शैक्षिक क्षेत्र र रोजगारी क्षेत्रमा दिइएको बिदा सदुपयोगका लागि नेपाल भ्रमण गर्ने भारतीय पर्यटकको आगमन पनि बढेको वायुसेवा कम्पनीले जनाएका छन्। यसले पनि उडानमा यात्रु चाप थपिएको छ।

कोभिडका कारण दुई देशका राष्ट्रिय ध्वजावाहकले एयर बबल सम्झौताअनुसार सातामा सात-सातवटा मात्र उडान गर्दै आएका थिए। तर यो सम्झौता खारेज भएसँगै गत फागुनयता दुवै मुलुकका निजी वायुसेवाले आवश्यक स‌ंख्यामा नियमित उडान गर्दै आएका छन्। तैपनि माग धान्न धौधौ भएको हो। दुई वर्षपछि गत फेब्रुअरी १६ बाट निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले आफ्नो सेवा सुरु गरेका हुन्।

यतिखेर भारतको तर्फबाट एयर इण्डिया र भिस्ताराले साताको सात-सात वटा उडान गदैछन् भने इण्डिगोले साताको १४ वटा उडान गर्ने तालिका पाएको छ।

नेपाल वायुसेवा निगम, एयर इण्डिया, इण्डिगो, भिस्तारा लगायत विभिन्न वायुसेवा कम्पनीले अहिले भारतको दिल्लीसँगै बैंगलोर, मुम्बई, कोलकाता लगायतका विभिन्न  गन्तव्यमा नियमित उडान गर्दै आएका छन्। 

 

सम्बन्धित समाचार

Facebook Comments