• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
नारायणी नदीमा आजदेखि पानी जहाज चल्ने

सञ्चालनको तयारीमा रहे पनि विभिन्न कारणले चल्न नसकेको क्रुज सीप (पानीजहाज) आजदेखि नारायणी नदीमा चल्ने भएको छ । राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले आज माघ १ गतेदेखि क्रुज सीप सञ्चालनमा आउन लागेको जानकारी दिएको हो ।

करिब २ वर्ष पहिले नै क्रुज सीपको परीक्षण गरिएता पनि कोभिड महामारीका र केही नीतिगत व्यवधानका कारण क्रुज सीप सञ्चालनमा आउन सकेको थिएन । अहिले सबै प्रक्रिया पुरा गरेर क्रुज सीप सञ्चालनमा ल्याउन लागिएको क्रुजको कार्यकारी निर्देशक दीपक ढुङ्गेलले जानकारी दिनुभयो । आइतबार दिउँसो १ बजे विशेष क्रुजिङको समय रहेकाले यही समयलाई साइत मानेर सञ्चालन गर्ने उहाले बताउनुभयो । तीन तलाको क्रुज सीपमा १८० जना अट्ने छन् । यसको कुल क्षमता भने २०० जना अट्ने रहेको छ ।

यसमा यात्रा गर्ने सबै यात्रुहरूको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । क्रुज सीपको टिकट दर सात सय रहेको छ । ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङ दुई हजार, डिनर क्रुजिङ दुई हजार पाँच सय रहेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं.१६ स्थित काप्रेघाटबाट देवघाटसम्म सञ्चालनमा आउने भने पनि अहिले पानीको सतह कम भएकाले तत्काल छोटो दुरीमा सञ्चालनमा आउने ढुङ्गेलले जानकारी दिनुभएको छ । नदीले पानीको धार परिवर्तन गरेकाले छोटो दुरीमा मात्र सञ्चालनमा आउने भएको उँहाले बताउनुभयो। सिपमा विवाह, पार्टी, कुनै पनि कार्यक्रम गर्न मिल्ने गरी स्थान निर्माण गरिएको छ । जल पर्यटनलाई यस सिपले नयाँ टेवा पुग्ने राइनो वाटर इन्टरटेनेमेन्ट प्रा.लि.ले जनाएको छ । नारायणगढको पुलचोकबाट करिब ९ किलोमिटर दक्षिणमा रहेको काप्रेघाटमा सिपको स्टेसन रहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments