पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई रविले बनाए मोबाइल क्लिनिक
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का सांसद रवि लामिछानेले आफु सांसद पदमा निर्वाचित भएको १०० दिन पुगेको अवसरमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भनि सुरु गरेको मोबाइल क्लिनिक पुरानो मेडिकल कलेजको मोबाइल क्लिनिक बनाएको खुलेको छ ।
भारत सरकारले मेडिकल कलेजलाई अनुदानमा दिएको ना २ च ५६१९ नम्बरको एम्बुलेन्समा निलो रङ लगाएर रविले मोबाइल क्लिनिक भेन बनाएका हुन् । भारतीय दुतावासले मेडिकल कलेजलाई २०७१ सालमा उक्त एम्बुलेन्स दिएको थियो ।
मेडिकल कलेजले यातायात व्यवस्था कार्यालयलाई गाडीको रंग परिवर्तन गरिएको पत्र समेत पठाएको छ । मेडिकल कलेजले उक्त एम्बुलेन्स दिए वापत बिरामी ल्याउने शर्त राखेको स्रोतको दावी छ । गाउँगाउँमा पुगेर परीक्षण पछि थप उपचार गर्नु परेमा बिरामीलाई पुरानो मेडिकल कलेज ल्याउने गरी उक्त एम्बुलेन्स दिइएको भन्दै आलोचना पनि भएको छ ।
केही दिन अघि सो मेडिकल कलेजका आवासीय निर्देशक डा मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । यससँगै उनले पार्टीको बागमती प्रदेशको स्वास्थ्य संयोजकको जिम्मेवारी पनि लिएका छन् । पार्टी र मेडिकल कलेज दुवैलाई फाईदा पुग्ने गरी मोबाईल क्लिनिक सञ्चालन गरिएको बताईएको छ ।
Facebook Comments