चितवनको मनकामना अस्पतालमा गर्भवतीको मृत्यु भएपछि तनाव
चितवनको मनकामना अस्पतालमा गएराती गर्भवतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको हो ।
चिकित्सकले लापरबाही गर्दा तीन महिने गर्भवतीको मृत्यु भएको मृतकका आफन्तहरुले आरोप लगाएका छन् ।
सामान्य रक्तस्राव भएपछि गर्भवतीलाई उपचारको लागि बिहीबार अस्पताल ल्याइएको थियो । उनको हिजो दिउँसो अपरेशन भएको थियो । अस्पतालले हिजोराती अचानक विरामीको मृत्यु भएको खबर आफुहरुलाई दिएको पिडितहरुले बताएका छन् ।
गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । अस्पतालबाट लास निकाल्न जबरजस्ती हस्ताक्षर गराइएपछि अवस्था असहज भएको मृतकका देवर सन्तोष चौधरीले बताए । अस्पतालमा तनाव सिर्जना भएपछि राती १ बजेदेखि नै बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ ।
मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् भने अस्पताल प्रशासन पिडितको कुरा सुन्न नआएको चौधरीले बताए । अस्पतालले आधिकारीक रुपमा घटना सार्वजनिक गरेको छैन ।
Facebook Comments