• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
क्यान्सर अस्पताल आएका नयाँ बिरामी मध्ये २० प्रतिशतमा क्यान्सर

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गर्न आएका नयाँ बिरामी मध्ये २० प्रतिशतमा क्यान्सर रोग पुष्टि भएको छ ।

हालसालै अस्पतालले प्रकाशन गरेको तथ्यांक अनुसार, सन् २०२२मा ३२ हजार ३१४ जना नयाँ बिरामी ओपिडिमा आएका थिए । त्यसमध्ये मध्ये ६ हजार ४ सय ४६ जनामा क्यान्सर रोग पुष्टि भएको क्यान्सर अस्पतालले जानकारी दिएको छ । क्यान्सर अस्पतालमा अघिल्लो आर्थिक बर्ष १ लाख ६५ हजार ५० जना बिरामी आएका थिए । त्यसमध्ये ३१ हजार बिरामीले आकस्मिक सेवा लिएका छन् । भर्ना भने १० हजार २ सय ७५ जना भएका छन् । ठुलो शल्यक्रिया ४ हजार ८ सय ५० वटा गरिएको अस्पतालले जानकारी दिएको छ । यो अघिल्लो आर्थिक ३ हजार ३ सय बिरामीको ठुलो शल्यक्रिया गरिएको थियो ।

नेपालमा बार्षिक १५ हजारको हाराहारीमा क्यान्सरका बिरामी थपिने गरेको बताइन्छ । तीमध्ये प्रत्येक बर्ष आधाको क्यान्सरका कारण मृत्यु हुने आंकलन गरिएको छ । सुरुवाती चरणमा क्यान्सर लागे पनि थाहा नपाउने र हेलचेक्र्याइँ गर्ने तथा अन्तिम चरणमा मात्र अस्पताल आउंँदा बिरामी बचाउन नसकिएका कारण पनि नयाँ क्यान्सरका बिरामीसँगै मृत्युदर बढेको अनुमान गरिएको छ ।

हाल नेपालमा ९० हजारको हाराहारीमा क्यान्सरका बिरामी रहेको अनुमान छ । तर उपचार गराउन अस्पताल आउने बिरामीको संख्या धेरै कम रहेको छ । उपचार गर्न आउनेमध्ये सबैभन्दा धेरै भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ५० देखि ५५ प्रतिशत बिरामी आउने गरेको बार्षिक प्रतिवेदन समितिका संयोजक डा योगेश रेग्मीले बताए । यहाँ आउने मध्ये सबैभन्दा बढी चितवनका २० हजार २ सय २२ जना बिरामी छन् । त्यसपछि रुपन्देही ९ हजार ६ सय ५८, नवलपुर ७ हजार ४ सय १९, बारा ६ हजार ७१, तनहुँ ५ हजार १ सय ९९ दाङ ४ हजार ९ सय ७७, मकवानपुरका ४ हजार ७ सय ९३ जना छन् । यहाँ आउने मध्ये अधिकांश फलोअपमा आउने बढी छन् ।

सम्बन्धित समाचार

Facebook Comments