आदिवासी जनजाति साँस्कृतिक महोत्सवको तयारी तीब्र,सबै जातिका घर एउटै गाउँ हेर्न पाईने
नारायणी नदी किनारमा यही चैत ९ देखि १८ गतेसम्म ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दैछ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवस्थलमा यतिखेर धमाधम अस्थायी संरचना निर्माणको काम भइरहेको छ। महोत्सवमा आदिवासी जनजातिको पहिचानलाई स्थापित गराउन महोत्सव स्थलभित्रै गाउँ निर्माण गरिएको छ।
सबै आदिवासी जनजातिलाई समेटेर साँस्कृतिक एवम् परम्परागत घरमार्फत पहिचान दिलाउने गरी गाउँ निर्माण गरिएको हो। हालसम्म चितवनमा १७ वटा जनजाति समुदाय संगठित भएर जनजाति महासंघमा आवद्ध छन्। तिनैमध्ये कम्तिमा १० वटा जातजातिको घर महोत्सवस्थलमा निर्माण हुने आयोजकले जनाएको छ।
महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार आदिवासी जनजाति समुदायको विषयमा अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धाताहरूलाई समेत सघाउ पुग्ने गरी महोत्सवस्थलमा आदिवासी जनजातिका घर निर्माण गरिएको हो। साँस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय कुमालका अनुसार यसपटक ११ वटा जातजातिका घर निर्माण हुनेछन्।
महोत्सवस्थलमा निर्मित आदिवासी जनजाति समुदायको गाउँले पुरानो पुस्तालाई भन्दा पनि नयाँ पुस्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ। परिवर्तित समयसँगै आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउन पनि आदिवासी जनजातिका गाउँले फरक अनुभूति दिलाउने भरतपुर ११ नौरङ्गेकी नुरमायाँ कुमाल बताउँछिन्।
यो महोत्सवमा निर्मित घर देख्दै गर्दा आधुनिक संरचनालाई पनि मौलिकता झल्किने गरी निर्माण गर्न सकिने महसुस गराएको उनको भनाइ छ। जनजाति परिषरकै कारण चितवनमा हुँदै आएको अन्य मेला महोत्सवभन्दा विल्कुलै फरक हुने प्रचारप्रसार उपसमितिका संयोजक रमेश रानामगरले बताए। महोत्सवको आर्थिक उपसमितिका संयोजक पवन गुरूङका अनुसार महोत्सव अवधिभर करिब ८० देखि ८५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
Facebook Comments