राष्ट्रिय युवा संघ चितवन द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
चितवन श्रावण १९ - राष्ट्रिय युवा संघ नेपाल, जिल्ला समिति चितवनको आयोजनामा "वृक्षारोपण कार्यक्रम" आज सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्धेश्य "संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको" रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले सहभागी सबैलाई शुभकामना व्यक्त गर्दै वृक्षारोपणको महत्त्व र यसको दीर्घकालीन फाइदाहरू बारे चर्चा गर्नुभयो। उहाँले "एक युवा, पाँच विरुवा" भन्ने नारालाई आत्मसात गर्दै, युवाहरूले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरामा जोड दिनुभयो।
कार्यक्रममा वन डिभिजन कार्यालयका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारी, कालिका नगरपालिकाका मेयर विनोद रेग्मी, उपमेयर विमला तामाङ लगायतका विशिष्ट अतिथिहरूको पनि उपस्थिति थियो। कार्यक्रमको स्वागत मन्तव्य युवा संघका स्थायी कमिटि सदस्य शंकर अधिकारीले राखेका थिए।
कार्यक्रम अन्तर्गत, कालिका-८, उदयपुर सामुदायिक वन मित्र टोली छरोलिङ्ग गुम्बा परिसरमा १००० विरुवाहरू रोपिएको थियो। यस कार्यले वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीय जैविक विविधताको संरक्षण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सहभागीहरूले उत्साहका साथ विरुवा रोप्दै वातावरण संरक्षणमा आफ्नो प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा स्थानीय युवाहरू, वन व्यवस्थापन समितिका सदस्यहरू, तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको समापन युवा संघका अध्यक्ष झलक राज भट्टले गरेका थिए। राष्ट्रिय युवा संघ नेपालले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ। यस किसिमका क्रियाकलापहरूले सामुदायिक सहभागिता बढाउने र वातावरणीय सचेतना फैलाउने विश्वास व्यक्त गरिएको छ।
Facebook Comments