चितवन सौराहामा १९औं सौराहा फुड फेस्टिवल: पर्यटन विकासको नयाँ अध्याय
चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गतेदेखि सौराहा फुड फेस्टिवल सुरु हुँदैछ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहाको आयोजनामा फेस्टिवलको १९औं संस्करण हुन लागेको हो। प्रणय दिवसको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको फुड फेस्टिवल यस वर्ष पनि पर्यटक भित्र्याउने उद्देश्यले सञ्चालन गरिन लागेको छ।
आयोजक रेवान सौराहाले बुधबार पत्रकार सम्मेलन गरी फेस्टिवलको उद्देश्य र तयारीबारे जानकारी गराएको थियो। रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीका अनुसार चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरिएको हो। “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने नारासहित सौराहाको पर्यटक बस पार्क जाने बाटोको उत्तरतर्फको खाली जग्गामा फेस्टिवल सञ्चालन हुनेछ।
फेस्टिवलले समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी र विदेशी खानाको प्रवर्द्धन गर्ने तथा स्थानीय कला-संस्कृति र भेषभूषाको जगेर्ना गर्दै सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ। प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्गको सौन्दर्यकरण गरिने अध्यक्ष गिरीले जानकारी दिए।
फेस्टिवलको प्रभावका कारण पर्यटकीय नगरी सौराहामा पर्यटक आगमनमा करिब ४० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ। फागुन ३ गतेसम्म चल्ने फेस्टिवलमा विभिन्न जातजातिका झाँकी, सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक कार्यक्रम, स्थानीय जनजातीय खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर/वेट्रेस प्रतियोगिता, तानडोरी प्रतियोगिता, प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता जस्ता आकर्षक कार्यक्रमहरू समावेश गरिएका छन्।
फेस्टिवलका संयोजक शम्भुप्रसाद मालीका अनुसार यो वर्ष फेस्टिवल सञ्चालन गर्न करिब ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। फेस्टिवल अवधिभर सौराहा क्षेत्रमा करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। रेवान सौराहाका महासचिव नविन नेपालका अनुसार फेस्टिवल अवलोकनका लागि दैनिक करिब ५ हजार स्वदेशी तथा विदेशी पर्यटक सौराहामा भित्रिने छन्।
रत्ननगर नगरपालिका संरक्षक रहेको यस फेस्टिवलमा सह-आयोजकका रूपमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ सौराहा, र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन्।
पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष सजना महतो प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सौराहा पर्यटन विकास समिति रत्ननगरका अध्यक्ष भेषराज दुवाडी, क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी, फेस्टिवल आर्थिक उपसमितिका संयोजक सुवासचन्द्र गौतम लगायतले मन्तव्य राखेका थिए।
फेस्टिवल अवधिभर सौराहाका व्यवसायीहरूले आवास तथा खानामा १० प्रतिशत छुट दिने घोषणा समेत गरेका छन्।
Facebook Comments