चितवन–२ बाट निर्वाचित सांसद पोखरेलले बुझाए सरकारी सेवा सुविधा, ४ वर्षमा निर्वाचन क्षेत्रमा के–के काम गरे?
२०७४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले आफुले पाँच वर्षमा गरेका कामको विवरण प्रस्तुत गरेका छन् । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति समेत रहेका पोखरेलले आफुले प्रयोग गर्दै आएको गाडीलगायतका सरकारी सेवा सुविधा शुक्रबार संसदलाई बुझाएर क्लियरेन्स लिएका छन् ।
समितिको सभापति रहेर उनले ४ वर्षभन्दा बढी समय काम गरे । उनको नेतृत्वमा १७६ वटा भन्दाबढी कानुनहरूलाई सर्वसम्मत रूपमा संसोधन गरी न्यायोचित व्यवस्थासहित संविधान अनुकुल बनाइएको छ । खाद्य अधिकार, स्वास्थ्यको अधिकार, आवासको अधिकार, शिक्षाको अधिकार, रोजगारीको अधिकार जस्ता मौलिक हकहरू कार्यान्वयनको लागि १६ वटा नयाँ कानुनहरू पनि यसै अवधिमा निर्माण भएका उनले बताए । यद्यपी कार्यान्वयनको चरण भने चुनौतीपूर्ण रहेकाले यसमा सबै प्रतिबद्ध हुनुपर्ने उनले बताएका छन् ।
‘म पहिलो पटक निर्वाचित हुँदा दाहाखानी, काउले, चण्डीभन्ज्याङ र दारेचोकमा विजुली थिएन, अहिले अधिकांश ठाउँमा विजुली पुगेको छ । ईच्छाकामना–२ लगायतका क्षेत्रमा १० करोड भन्दाबढी बजेट विद्युत विस्तारका लागि परेर पनि ठेकेदारको लापरवाहीको कारण काम हुन सकेको छैन, ठेकेदारलाई कालोसुचीमा राखी काम नयाँ ढंगवाट अगाढी वढाउन प्रयास भएको छ’, आफुले गरेका कामबारे यसो भनेका छन् ।
शक्तिखोर–फिस्लिङ बाटो ७८ करोडको लागतमा निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । भोर्ले–दाहाखानी सडक २५ करोडको लागतमा निर्माण काम शुरूवात भएको छ । भौतिक निर्माणका लागि स्थानीय तहलाई नै मजवुत बनाउनुपर्छ भनि केन्द्रबाट बढी भन्दा बढी बजेट पठाउने नीतिगत प्रवन्ध गर्न आफ्नो ठाउँबाट लागेको उनले बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओलीले गोन्द्राङ–पुल्चोक बाटो छ लेनमा विस्तार र सभा गृह भवन निर्माणका लागि बजेट विनियोजन गरि शिलान्यास गरि विकासका महत्वपूर्ण पहलकदमी सुरूवात भएको उनले बताए ।
केन्द्रीय बजेटवाटै बाईपास सडक विस्तारको काम अगाडि बढेको उनको भनाई छ । नारायणी माविलगायत १३ वटा माध्यमिक विद्यालयमा आर्थिक सहयोग गरेको उनले बताए । जेष्ठ नागरिक भवन भरतपुर र प्रेमवस्ती, थारू संग्रहालय पदमपुरलाई आफ्नो पहलमा बजेट पारेको भन्दै उनले बाह्रघरे स्पोर्ट गृह बनिसकेको बताए । ‘जनतासँग गरेका प्रतिवद्दता कतिपय पुरा गर्न प्रयास गर्दा गर्दै पुरा गर्न नसकिएकोमा क्षमा चाहन्छु’,उनले लेखेका छन्, ‘बहुविवाह सदाका लागी अन्त्य, बलात्कार लगायत विभिन्न ६ प्रकारका जघन्य अपराधीलाई आजिवन कारागारमा नै रहनुपर्ने व्यवस्था, सम्पत्तिमा महिलाको समान हक जस्ता राम्रा प्रवन्ध भएका छन् ।’
Facebook Comments