• ५ कार्तिक २०८२, मङ्गलवार
  • २५ °C काठमाडौं
गोरखा–२ मा प्रचण्डको चर्चा, के चितवन-३ छोड्लान?

संघीय निर्वाचनको मिति नजिकिदै गर्दा अहिले कुन क्षेत्रमा को उम्मेदवार बन्ने भन्ने विषय चर्चा हुन थालेको छ । अहिले सबैको चासोको रुपमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहाँ चुनाव लड्छन् भन्ने विषयलाई हेरिएको छ । विगतका निर्वाचनहरुमा पटक–पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्ड गत निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट निर्वाचित भएका थिए ।

अहिले फेरि निर्वाचनमा प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्न लागेको चर्चा हुन थालेको छ । प्रचण्ड गोरखा–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने विषयमा छलफलले प्रवेश पाएको छ । गोरखा–२ बाट चुनाव जित्दै आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रचण्डका लागि गोरखा २ छाड्ने संकेत गरिसकेका छन्।

निकटस्थहरुसँग आफू कुनैपनि क्षेत्रबाट प्रत्यक्ष चुनाव नलड्ने डा भट्टराईले बताउन थालेका छन् । सोही कारण प्रचण्डको सुरक्षित क्षेत्रको रुपमा गोरखा–२ लाई हेरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखा–२ अन्तर्गत पर्ने वडाहरुमा अध्यक्षका उम्मेदवारहरुले पाएको मत जोड्दा माओवादी बलियो देखिन्छ।

त्यहाँ माओवादीले २२ हजार २५०, कांग्रेसले २१ हजार ५७८, एमालेले ७ हजार ४८४, जसपाले ७ हजार ५०४ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले २ हजार ५२० मत पाएका थिए।

चितवन–३ बाट यसअघि प्रतिनिधि सभामा पुगेका प्रचण्डले आफ्ना लागि गोरखा–२ सुरक्षित हुने विषयमा निकटस्थहरुसँग छलफल सुरु गरेका हुन्। उनी निकटस्थहरुले गरेको सर्वेक्षणले समेत प्रचण्डका लागि चितवन–३ सुरक्षित नरहेको संकेत गरेको बुझिएको छ। तर प्रचण्डले चितवन ३ बाटै निर्वाचन लड्ने घोषणा गरि सकेका छन् । उनले पहिलोपटक जापान भ्रमणको क्रममा आगामि निर्वाचन चितवन ३ बाट लड्ने घोषणा गरेका थिए । त्यसलगत्तै उनी चितवन केन्द्रित गतिविधिमा व्यस्त देखिन्छन् ।

सम्बन्धित समाचार

Facebook Comments