गहभरि आँसु लिएर कोइरालाले भने पटकपटक बिद्रोह गरेर बस्दाबस्दै आज स्वतन्त्र उम्मेद्बारी दिने बाध्यता आइपर्यो
चितवन ३ मा कांग्रेसबाट बागी उमेदवारी दिएका दिनेश कोइराला शुक्रबार पत्रकार सम्मेलन गर्दै निकै भावुक बने । बृद्ध बुबालाई छेउमा राखेर आफ्नो उमेदवारीबारे बाेल्न थालेका काेइराला आफू ३० वर्षे लामो राजनीतिक यात्रामा सबैभन्दा कठिन मोडमा आइपुगेको भन्दै गहभरि आँसु लिएर भने पटकपटक बिद्रोह गरेर बस्दाबस्दै आज स्वतन्त्र उम्मेद्बारी दिने बाध्यता आइपर्यो। ४२ वर्षको उमेरमा आमा गुमाउँदा पनि त्यति रोएको थिइनँ, जति अहिले रुँदै छु’, उनले भने, ‘पार्टीभित्र बोलेका कुरा कसैले नसुनेपछि पिँजडाको सुगा र अन्य पार्टीको दास बन्न नसकेर स्वतन्त्र उम्मेद्बारीको निर्णय गर्न बाध्य भएको बताए।
गठबन्धन देश विकासको निम्ति नभई सीमित परिवारका लागि मात्रै भएकोले आफूले बिद्रोह गर्दै आएको र परिवार वाद र सधै अर्काको बन्दनको बाटोमा जान नसकेको उनको भनाइ छ।
एक सांसद्को लागिमात्र उमेदवारी नदिएको भन्दै उनले लोकतन्त्रको खोल ओढेको राणाशासन अब चल्न नदिने बताए । अंश, वंश र अर्थको आधारमा राजनीति चल्न नदिने, गिरोहलाई देश चलाउन नदिने र पारिवारिक शासन चल्न नदिने आफ्ना मुख्य एजेण्डा रहेको कोइरालाले स्पष्ट पारेका छन् । ‘सीमित परिवारका लागिमात्र लोकतन्त्र हुने, बाँकीले दास बन्नुपर्ने विकृत प्रथा कुनै हालतमा मान्य हुँदैन’, उनले भने । राष्ट्रिय राजनीतिमा चितवनले हस्तक्षेप गर्ने उनको दाबी छ । ‘हिजो हजारौँ मान्छे मारेर क्रान्ति गरेको भन्दै भ्रम फैलाउनेहरुले परिवार पोसे, देश लुटे, देश र समाज भत्काए, जनतालाई रुवाए । अब सांसद्लाई विकृति र लुटको अखडा बनाउन दिइने छैन’, उनले भने, ‘यसको अगुवाई चितवन क्षेत्र नं ३ का जनताले गर्नेछन् ।’
अहिलेको परिवेशमा कांग्रेस र एमाले नै देशको वर्तमान र भविष्य भएको उनले दाबी गरे । यी दुई पार्टीलाई सही बाटोमा नहिँडाई देश ठीक बाटोमा हिँड्न नसक्ने भन्दै उनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गरेर शान्तिपूर्ण तथा रचनात्मक क्रान्ति गर्न पार्टीलाई सुधानुपर्ने बताए ।
एमालेको मौखिक समर्थन आएको र माओवादी केन्द्रले पनि समर्थन गर्नेमा विश्वस्त रहेको उनले बताए । एमालेमा आफू जान लागेको अफवाह नफैलाउनसमेत उनले आग्रह गरेका छन् । आफ्नो परिवारको कसम खाँदै कोइरालाले भने, ‘एमालेमा जाने कल्पनासमेत गरेको भए मेरो सन्तानको सत्यानाश होस् । कांंग्रेसलाई कहिल्यै धोका दिन्न । म हिजो पनि कांग्रेस थिएँ, आज पनि कांग्रेस हुँ र भोलि पनि मर्ने बेलासम्म कांग्रेस नै रहनेछु । अन्य पार्टीमा एक जान्न, दुई जान्न, तीन जान्न, जाँदै जान्न ।’
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा भोजराज अधिकारीविरुद्ध बागी उमेदवारी दिएका कोइरालालाई कांग्रेसले पाँच वर्षका लागि निलम्बन गरिसकेको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट लोकप्रिय मतका साथ खुला केन्द्रीय सदस्यमा निर्वाचित कोइराला संस्थापन इतर समूहका नेता हुन् । उनले आफ्नो उमेदवारी बागी र विद्रोहीभन्दा धेरै माथि भएको बताएका छन् ।
Facebook Comments