दानविर मैयादेवीको राजनीतिक यात्रा
मैयादेवीको राजनीतिक यात्रा
विसं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा पिता वीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठकी दोस्रो सन्तानको रुपमा जन्मनुभएको मैयादेवी श्रेष्ठको गएराती निधन भएको छ। जीवन नै राजनीति र समाजसेवामा समर्पित गर्नुभएको मैयादेवीले आफ्नो राजनीतिक यात्रा २००३ सालमा वीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएर सुरु गर्नुभएको थियो। वीपीले मैयादेवीको औंला ब्लेडले चिरेर रगतको ल्याप्चे लगाई सदस्यता दिएको कुरा मैयादेवीले बताउने गर्नुहुन्थ्यो।
उँहालाई मन पर्ने नेता पुष्पलाल श्रेष्ठ पनि हुन्, जो तीन वर्ष बन्दीपुरमै बसेका थिए । २००७ सालको क्रान्तिमा बन्दीपुरमै सक्रिय हुनुभएको मैयादेवी २०१४ को भद्र अवज्ञा आन्दोलनमा जेल समेत पर्नुभएको थियो। २०१७ सालमा राजा महेन्द्रले सत्ता पलट गरेपछि भारत पलायन हुनुभएको उँहाले २०१८ देखि २०२० सालसम्म ऋषिकेशमा कांग्रेसको राजनीति गर्नुभयो।
लामो समय महिला संघको चितवन जिल्ला अध्यक्ष रहनुभएको उँहा ०४८ सालमा गोरखा क्षेत्र नः २ बाट सांसद निर्वाचित हुनुभएको थियो । २०५६ सालमा राष्ट्रिय सभामा मनोनित हुनुभएको थियो । ०६२/०६३ को जनआन्दोलनपछि पुनस्थापित संसदमा पनि उँहा सांसद हुनुहुन्थ्यो।
प्रतिनिधिसभा र राष्ट्रियसभामा महिला सांसद समूह (ककस) को अध्यक्ष रहँदा सम्पतिमा महिलालाई दाजुभाइसरह हक होस् भनेर आवाज उठाउदै आउनुभएको मैयादेवीको राजनीतिक सँगसङै सामाजिक यात्रा पनि निकै लोभ लाग्दो छ। उँहालाई दानविर मैयादेवी समेत भन्ने गरिन्छ।
Facebook Comments