घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा दिने सरकारको घोषणा
सरकारले ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा तथा औषधि उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त नीति ल्याउने जानकारी दिएका हुन् ।
ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा लिनका लागि कठिनाइ भएको अवस्थालाई ख्याल गर्दै सरकारले यस्तो नीति ल्याएको जनाएको छ ।
यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शय्याको मेडिकल कलेज र प्राविधिक कार्यक्रम आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने सरकारले योजना बनाएको छ ।
यसैगरी उदयपुर, मोरङ, पर्सा, चितवनलगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक तयारी गरिने राष्ट्रपति पौडेलले बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षदेखि एमबीबीएस लगायतका चिकित्सा शास्त्रको स्नातक तहको अध्ययनसमेत सुरु गर्ने र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पनि अस्पताल सञ्चालनको तयारी गर्ने योजना बनाएको छ ।
Facebook Comments