नेपाली उद्योगलाई विदेशमा लगानीको अनुमति, कुल निर्यातको २५ प्रतिशतसम्म लगानी गर्न पाउने
सरकारले नेपाली उद्योगहरूलाई विदेशमा लगानी गर्न अनुमति दिने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धनका लागि यस्तो व्यवस्था गर्न लागिएको घोषणा गरेका हुन्।
उनका अनुसार अब नेपाली निर्यातकर्ताले कुल निर्यातको २५ प्रतिशतसम्म रकम विदेशमा लगानी गर्न पाउने छन्। विशेष गरी नेपालबाट अर्धप्रशोधित सामग्री निर्यात गरी विदेशी भूमिमा प्रशोधन कारखाना स्थापना गर्न यस्तो लगानीको सुविधा दिइनेछ।
“नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ,” अर्थमन्त्री पौडेलले भने, “यसका लागि निर्यातबाट हुने आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न सकिने व्यवस्था गरिनेछ।”
त्यस्तै, विदेशमा लगानीबाट हुने मुनाफाको कम्तीमा ५० प्रतिशत हिस्सा नेपाल फर्काउनुपर्ने कानुनी प्रावधान पनि व्यवस्था गरिने उनले स्पष्ट पारे। विदेशमा गरिने यस्तो लगानीको स्वीकृति लगानी बोर्डमार्फत हुनेछ।
हालसम्म नेपाली उद्योग तथा व्यवसायीलाई विदेशमा लगानी गर्न कानुनी प्रतिबन्ध थियो। यद्यपि, हालै सरकारले अध्यादेशमार्फत सूचना प्रविधि (आईटी) कम्पनीहरूलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गरिसकेको छ।
Facebook Comments